भक्तपुरमा विजया दशमीका अवसरमा नवरात्रि मेला

भक्तपुरमा विजया दशमीका अवसरमा नवरात्रि मेला

सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • भक्तपुरमा विजया दशमीका अवसरमा नवरात्रि मेला
    भक्तपुर । घटस्थापनाका दिन रातिदेखि यहाँका विभिन्न शक्ति पीठहरुमा लाग्ने नौराते अर्थात् नवरात्रि मेला सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन गएरातिदेखि ब्रह्मायणी मन्दिरमा नवरात्रि मेला सुरु भएको हो। दर्शनार्थीहरुले रातभरि ब्रह्मायणीमा गएर मेला भरेका थिए ।
     
    भक्तपुरका नौ वटा शक्ति पीठमा नौ दिनसम्म राति राती मेला लाग्ने गर्दछ । घटस्थापनाको दिन राति–रातिदेखि सुरु हुने यो मेलामा यहाँका विभिन्न नौ शक्ति पीठमा नवरात्री मेला भर्ने गरिन्छ । रातको समयमा यहाँका बासिन्दाले टोलटोलबाट बाँसुरी, धिमे बाजा बजाउँदै शक्तिपीठहरुमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् ।
     
    नवरात्रि मेलाको पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दसैँको नवरात्रि समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद् प्रकाशचन्द्र धौभडेलले बताए । 
     
    नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमये ९राँगो० लाई दौडाउँदै ब्रह्मायणी मन्दिरमा पुर्याएर बलि दिने प्रचलन रहेको छ । नवमीको दिन रातिभरि र दशमीको दिनभरि ब्रह्मायणी मन्दिरमा हजारौँको भीडमा ठूलो मेला लाग्ने गर्दछ ।
     
    त्यसको भोलिपल्ट राति भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात् खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ । स्थानीयले यसलाई पायो न्ह्याकेगू जात्रा पनि भन्ने गर्दछन् । दसैँमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेलको भनाई छ । 
     
    नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराका रुपमा नौराते अर्थात् नवरात्रि जात्रा चलिआएको उनको भनाइ छ । यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दसैँ सुरु भएसँगै जीवित हुने विश्वाससहित यो जात्रालाई असत्यमाथि सत्यको विजयका रुपमा मनाउने गरिएको धौभडेलको भनाई छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij