प्रत्यक्षमा १२० सिट जितेको रास्वपाको समानुपातिकतर्फ पनि आधा मत नजिक

प्रत्यक्षमा १२० सिट जितेको रास्वपाको समानुपातिकतर्फ पनि आधा मत नजिक

आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • प्रत्यक्षमा १२० सिट जितेको रास्वपाको समानुपातिकतर्फ पनि आधा मत नजिक

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने ८ वटामा मतगणना जारी छ । धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको उम्मेदवारी खारेज गरिएकाले त्यहाँको नतिजा निर्वाचन आयोगको औपचारिक विवरणमा समावेश गरिएको छैन ।

    हालसम्म सार्वजनिक १५६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२० सिट जितेर स्पष्ट अग्रता बनाएको छ । अहिले गणना भइरहेका क्षेत्रमा पनि रास्वपा ५ स्थानमा अघि रहेको छ । अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले यस पटक प्रत्यक्षतर्फ १७ सिट मात्र जितेको छ भने बाँकी क्षेत्रमा कांग्रेसको अग्रता देखिएको छैन। नेकपा (एमाले) ले ७ सिट जितेको छ र गणना भइरहेका ३ क्षेत्रमा अघि छ । यसअघि तेस्रो दल रहेको नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एकीकृत समाजवादी) लगायत दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्लाबाट मात्र एक सिट जितेको छ भने ४ महिनाअघि स्थापना भएको श्रम संस्कृति पार्टीले ३ सिट हात पारेको छ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् ।

    यसैबीच समानुपातिकतर्फको मतगणना पनि जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४७ लाख ८९ हजारभन्दा बढी मत गणना भइसकेको छ । गनिएका मतमध्ये रास्वपाले २३ लाख ६७ हजार मत प्राप्त गर्दै झन्डै आधा मत हासिल गरेको देखिएको छ । नेपाली कांग्रेसले ७ लाख ९९ हजार, एमालेले ६ लाख ८२ हजार र राप्रपाले १ लाख ७४ हजार मत प्राप्त गरेका छन् ।

    समानुपातिक प्रणालीतर्फ सिट बाँडफाँट गर्दा विशेष गणितीय सूत्र प्रयोग गरिन्छ । प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेका दलले समानुपातिक मतमध्ये कम्तीमा ३ प्रतिशत मत ल्याएपछि मात्र सिट प्राप्त गर्ने व्यवस्था छ । हालसम्म ३ सिट जितेको श्रम संस्कृति पार्टीको समानुपातिक मत भने ३ प्रतिशत पुगेको देखिएको छैन । अन्तिम सिट बाँडफाँटको निर्णय भने निर्वाचन आयोगले औपचारिक रूपमा सार्वजनिक गर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij