प्रतिनिधि सभा चुनाव : समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने समय भोलि र पर्सि

प्रतिनिधि सभा चुनाव : समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने समय भोलि र पर्सि

शनिवार, पौष १२ २०८२
शनिवार, पौष १२ २०८२
  • प्रतिनिधि सभा चुनाव : समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने समय भोलि र पर्सि

    काठमाडौं । प्रतिनिधि सभा चुनावको समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची बुझाउने समय भोलि र पर्सि तोकिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ भाग लिन दर्ता भएका सबै राजनीतिक दललाई निर्वाचन आयोगले बन्द सूची समयमै बुझाउन स्मरण गराएको छ ।

    आयोगले जारी गरेको सूचनामा कानुनी विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी उम्मेदवारको बन्द सूची तयार गर्न आग्रह गरिएको छ । आयोगका अनुसार तोकिएको समयसीमाभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बन्द सूची पेश गर्नुपर्ने व्यवस्था छ ।

    समानुपातिकतर्फको निर्वाचन प्रक्रिया सहज बनाउन आयोगले केन्द्रीय कार्यालय परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा चुनावसम्बन्धी कानुनी प्रावधान र समयसीमाको पूर्ण पालना गर्न सबै सरोकारवालालाई अनुरोध गरिएको छ ।

    यता, बन्द सूची बुझाउने समय नजिकिँदै जाँदा पनि ठूला राजनीतिक दलहरू भने निर्वाचन हुने–नहुने विषयमै अल्झिएका छन् । प्रमुख दलहरूले चुनावको वातावरण नबनेको बताइरहेका बेला आज प्रधानमन्त्री सुशीला कार्कीले तीन ठूला दलका शीर्ष नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij