वर्षा र हिमपातबाट जोगिन प्राधिकरणको सात बुँदे अनुरोध

वर्षा र हिमपातबाट जोगिन प्राधिकरणको सात बुँदे अनुरोध

बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • वर्षा र हिमपातबाट जोगिन प्राधिकरणको सात बुँदे अनुरोध

    काठमाडौं ।  नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मन्था चक्रवातको असर देखिन लागेपछि आज विपद् प्राधिकरणले नागरिकका लागि सात बुँदे अनुरोध जारी गरेको छ । 

    उक्त चक्रवातका कारण कोशी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशमा वर्षा र हिमपात गराउने जल तथा मौसम विज्ञान विभागबाट आज विशेष बुलेटिन जारी भएलगत्तै साँझ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकहरूमा सचेतनाका लागि सात बुँदे अनुरोध सार्वजनिक गरेको हो ।

    प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उक्त प्रणालीको असर रहुञ्जेल सकेसम्म यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिएर कार्य गर्न अनुरोध गरेकी छिन् । 

    यस्तो छ सात बुँदे अनुरोध 

    – अत्यन्त जरुरी नभइ सकेसम्म यात्रा नगर्ने ।
    – डुबान हुनसक्ने बस्तीका बासिन्दाले उँचो ९अग्लो० र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने । आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने ।
    – प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने । जोखिम देखिए सुरक्षित स्थानमा सर्ने ।
    – धान तथा अन्यबाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने ।
    – प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकताअनुसार सवारी आवागमनबारे निर्णय गर्ने । सोको पालना गर्ने, गराउने ।
    – तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने ।
    – पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने ।

    प्रभावित जिल्लाहरू 

    कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी रहेका छन् । 

    मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी तथा बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली रहेका छन् ।

    उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावनासमेत रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ’मोन्था’का कारण २०८२ कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुनेछ ।

    उक्त प्रणालीको प्रभावबाट मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij