काठमाडौँ- गत भदौ २३ र २४ गते सुरु भएको जेनजी आन्दोलनको राप अझै सेलाएको छैन। सोही विद्रोहको साङ्केतिक सन्देश दिँदै मङ्गलबार बिहान सङ्गीत बम नामक एक युवाले रिपोर्टर्स क्लब नेपालमा १० सेकेन्डमै पत्रकार सम्मेलन टुङ्ग्याएका छन्।
पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीहरू बिहान ११ बजे नै तोकिएको स्थानमा पुगेका थिए। तर, मञ्चमा पुगेपछि बमले ‘द गेम अफ लुसिफर’ भन्दै साङ्केतिक विरोध स्वरूप पत्रकार सम्मेलन गरे। उनले उपस्थित भएर दुई औँला ठड्याए र बाँकी औँला खुम्च्याएर विरोध जनाए। उनले कुनै प्रतिक्रिया नदिई समाचार बनाउने जिम्मा पत्रकारहरूलाई नै दिएपछि सम्मेलन त्यत्तिकै सकियो।
तस्बिरमा देखिएजस्तै सेतो परम्परागत पोसाकमा सजिएका सङ्गीत बम दाहिने हात उठाएर मञ्चमा उभिएका थिए। केहीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ‘लुसिफर’ को संज्ञा दिँदै आएका छन्।