कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

बिहिवार, फाल्गुण २४ २०८०
बिहिवार, फाल्गुण २४ २०८०
  • कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

    महेन्द्रनगर । प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ ।

    जिल्ला अदालत कञ्चनपुरबाट २०५२ साल फागुन २७ गते भएको कुटपिट मुद्दाको फैसलाबाट दोधारा चादँनीका  गिरीसहित छजनालाई जरिवाना तोकेको थियो । सो मुद्दामा सोही समयदेखि फरार रहेका रत्ना गिरी, तुल्सी गिरी, झिरकुली वन, राधा वन र भाखा सिंहलाई दोधारा चादँनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि अदालत पेस गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अभियुक्तलाई स्थानीय घर ठेगानाबाटै पक्राउ गरिएको हो । तत्कालीन फैसलामा अदालतले रु दुई सयदेखि चार सयसम्म जरिवाना तोकेको थियो ।

    जिल्ला प्रहरी कार्यालयको प्रमुखमा प्रहरी उपरीक्षक चक्रराज जोशीले  फरार अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याउने क्रमले गति लिएको बताउनुभयो । तीन दिनको अवधिमा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट फरार रहेका २५ जनालाई कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले कुटपिट, अभद्र व्यवहार, जबर्जस्ती करणी, सवारी ज्यानलगायतका मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए।

    त्यसैगरी पाँच दिनअघि पनि प्रहरीले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट फैसला भएका मुद्दाका १० जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । विसं २०७० मा कुटपिट मुद्दाका दीपक थलाल, रामदत्त भट्ट, राजी थलाल र राम थलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी अभद्र व्यवहार मुद्दाका नीरा दमाई, पशुपति दमाई, गोपाल चुनारा, महेश लुहार, आशिष सुनाह र अनुज गुप्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका फरार अभियुक्तलाई अदालत र प्रशासनले फैसलामा जरिवाना सजाय तोको थियो ।

    त्यसैगरी प्रहरीले गत आइतबार पनि नौ जना फरार अभियुक्तलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय पेस गरेको जनाएको छ । जबर्जस्ती करणी मुद्दामा २०७९ चैतमा अदालतबाट छ महिना कैद र रु तीन हजार जरिवाना सजाय भएका केशवराज भट्टलाई समेत प्रहरीले पक्राउ गरी अदालत पेस गरेको छ ।

    यहाँका विभिन्न स्थानमा पक्राउ गरी अभद्र व्यवहार मुद्दामा जरिवाना सजाय तोकिएका सोलु बडैला, आयुश भट्टराई, नकजवनी चोरी मुद्दामा जरिवाना भएका कोसिस कार्की, सवारी ज्यान मुद्दाका नरसिंह धामीलाई नियन्त्रणमा लिएको थियो । गाली बेइज्जती मुद्दामा फरार रहेका भरत दमाई, पुनी दमाई र जोगीराम दमाई एवं कीर्ते जालसाज मुद्दाका पुरन कुमाललाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक जोशीले जिल्लाभर फरार अभियुक्त पक्राउ गर्न निर्देशन दिइएको बताए । उनले विभिन्न मुद्दामा कैद सजाय तोकिएका र जरिवाना तोकिएका जिल्लाभरि करिब तीन हजार हाराहारीमा फरार सूची रहेको बताए ।

    “फरार रहेका अभियुक्त कसुरदातालाई कानुनी दायरामा ल्याउन मातहतका सबै युनिटसम्म सर्कुलर नै गरेका छौँ”, उनले भने, “त्यसका साथै समग्र शान्ति सुरक्षा, तस्करी नियन्त्रण, लागुऔषध नियन्त्रणमा समेत सक्रियता बढाएका छौँ ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij