काठमाडौं । फिल्म अञ्जिलाको निर्माण टिमले तीन दिनमा ४ करोड ४८ लाख रुपैयाँ कमाउन सफल भएको छ । सोमबार रातीसम्म फिल्मले देशब्यापी ४ करोड ४८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
मिलन चाम्स निर्देशित फिल्मले आगामी सप्ताहन्त ५ करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने प्रक्षेपण छ ।
बक्सअफिस र विदेशको राइट जोड्दा मात्र ‘अञ्जिला’को ग्रस कमाइ ७ करोडभन्दा माथि हुन आउँछ । ‘अञ्जिला’ निर्देशक चाम्सको अहिलेसम्मको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म समेत बनेको छ ।
रिलिजको पहिलो दिनदेखि नै दर्शकको साथ पाएको फिल्मले शनिबार देशभरका हलमा राम्रो व्यापार गरेको थियो। फिल्ममा दर्शकको उपस्थिति उत्साहजनक भएसँगै कतिपय हलले शो समेत थपेका थिए।
'अञ्जिला' नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ ।
फिल्ममा एन्जिला आफैले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको भावुक कथा यसमा प्रस्तुत गरिएको छ ।
यस्तै, अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्ममा सुनील थापा, विजय बराल, माओत्से गुरूङ, बुद्धि तामाङ, बेदना राई, सारा राई लगायत कलाकारहरूको अभिनय छ। यो फिल्म मिलन चाम्सले निर्देशन गरेका हुन्।