काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक खण्डमा भएको ग्याङफाइटमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ ।
ग्याङफाइटमा परेर काठमाडौं ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको मृत्यु भएको थियो । गम्भीर घाइते रहेका उनलाई कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिए पनि डाक्टरले राति ८ बजे मृत घोषित गरेका थिए ।
ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालीमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरुबाट १५ जनालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएकाहरुल मध्ये हत्यामा क–कसको संलग्नता छ भन्ने विषयमा स्क्रिनिङ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ साढे ७ बजेतिर एलआरआई स्कुल नजिक झडप भएको थियो । होलीको दिनको घटनालाई लिएर दुई समूहबीच विवाद भएको थियो । विवाद भएपछि २१ वर्षीय रोहित खड्का, बिनय लामा, पर्वित श्रेष्ठले रड, खुकुरी, नक र मुक्का प्रहार गरेका थिए ।
झडपममा घाइते भएका २३ वर्षीय सन्दीप भुजेल, २२ वर्षीय चक्रे भनिने पवन तामाङ र २२ वर्षीय पासाङ शेर्पाको उपचार भइरहेको छ ।