काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलोमा कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ।
नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा परी ट्रक चालक रौतहटका रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै असुन्द्रकुमार यादव घाइते भएको जनाइएको छ ।
ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो। टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो।
सवारी साधनमा पूर्ण रूपमा क्षति भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको बताइएको छ ।