काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाए पछि उपत्यकामा सुरक्षा व्यस्था कडा पारिएको छ।
परिषद् बैठकले घिसिङलाई पदबाट हटाएर प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
रत्नपार्कस्थित प्राधिकरणको केन्द्रिय कार्यालयमा प्रहरी तैनाथ गरिएको छ।सशस्त्रसँगै नेपाल प्रहरीको टोली प्राधिकरण परिसरमा खटाइएका छन्।
कुलमान हटाएको विरोधमा विपक्षी दलले आज विरोध गर्न सक्ने भन्दै सतर्कता अपनाइएको हो। नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले घिसिङलाई हटाएकोमा विरोध गरेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ । घिसिङलाई हटाउन खोजेपछि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद बैठकमै र कांग्रेस नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन् ।