काठमाडौं । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरास्थित सांग्रिला प्लाइ तथा भेनियर उद्योगमा लागेको आगो ३० घन्टा हुँदासम्म पनि नियन्त्रणमा आएको छैन।
सोमबार बिहान १ बजेदेखि लागेको आगो अहिलेसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। मंगलबार बिहान १० बजेसम्म करिब ९० प्रतिशत आगो नियन्त्रणमा आएको छ भने उद्योगभित्र दुई ठाउँमा अझै पनि आगो बलिरहेको जनाइएको छ ।
ठूलो क्षेत्रफलमा उद्योग रहेको हुँदा त्यसभित्र भण्डारण गरी राखिएका काठमा सल्किएकोले निभाउन सकस भएको प्रहरीको भनाइ छ ।
आगो निभाउन रूपन्देही, कपिलवस्तु, बाँके र बर्दियाबाट गरी ८ वटा दमकल ल्याइएको थियो। यीमध्ये केही दमकल बिग्रँदा प्रयोगमा ल्याउन सकिएको थिएन।
अहिले आगो निभाउने कार्यमा घोराही उपमहानगरपालिकाको दमकल मात्रै प्रयोग गरिएको छ। खबर पाएको १५ मिनेटभित्रै प्रहरी घटनास्थल पुगेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै स्थानीय पनि आगो निभाउन खटिएका थिए।
आगो समयमै नियन्त्रणमा आउन नसक्नुको कारण ठूलो उद्योगभित्रको काठलगायतमा आगो फैलनु हो। बिजुली सर्ट भएर आगलागी भएको अनुमान छ।