चितवन । त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानमा कोइला बोकेको ट्रक चितवनबाट काठमाडौं आउँने त्रममा त्रिशूलीमा खसेको हो ।
प्रहरीका अनुसार, आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका ३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको छ ।
सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी टोली खटिएको थियो । टोलीले चालक र सहचालकलाई उद्धार गरी अस्पताल भरतपुर पठाएको थियो ।
चिकित्सकहरुले सहचालकलाई थप उपचारका लागि ७ः५० बजे नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरेका थिए भने चालकलाई ८ः२० बजे मृत घोषणा गरेका थिए । आधा भाग त्रिशूली नदीमा डुबेको ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।