काठमाडौं । भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय पाएका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती जेल चलान भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको बनस्थलीबाट ६५ वर्षीय उप्रेतीलाई आइतबार पक्राउ गरेको थियो।
गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरी २ करोड बढी भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको थियो।
सर्वोच्च अदालतले गत मंसिर १२ गते सो भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने फैसला गरेको थियो। उप्रेतीलाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको व्युरोले जनाएको छ।