भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत फेल परेका थिए ।
व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो ।
शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप टोपी, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान सुरु गरेको थियो ।
मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरिसकेको प्रहरीको भनाइ छ । छोरा सम्पर्कमा आएर सनाखत गरेपछि मृतक व्यक्ति खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६० वर्षीय ओम प्रकाश राई रहेको खुलेको छ । उनको शव भक्तपुर दुवाकोटस्थित केएमसी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।
राईले कवाडीको सामान संकलन गर्ने गरेको खुलेको छ । राईको हत्या गएराति भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
शनिबार मात्रै राईको शव भेटिएको ठाउँ नजिकै लामाहरुले पूजापाठ गरेका थिए । पूजापाठको भेटी टिप्न उनीहरु शनिबार साँझ उक्त ठाउँमा पुगेको हुनसक्ने प्रहरीको आशंका छ । भेटी टिप्ने क्रममै विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।