काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेको छन् । परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्वीर र परीक्षार्थीको अनुहार नमिलेपछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको फेला परेको हो ।
तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु–संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको छ ।
उक्त विद्यार्थीको ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेको र त्यसैमा पनि नक्कली परीक्षार्थी प्रयोग भएको जनाइएको छ । रुपन्देही जिल्ला बाट २२ हजार ९ सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । माध्यमिक शिक्षा परीक्षा २०८१ मा साधारण नियमित तर्फ १७ हजार ५ सय १८ र ग्रेड वृद्धि ४ हजार ९ सय ३९ जना रहेका छन् । प्राविधिक तर्फ नियमित ४ सय ३ जना, ग्रेड वृद्धि १ सय १५ जना गरी २२ हजार ९ सय ७५ रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३ हजार २ सय ८० विद्यार्थी बढी रहेका छन् ।
१७६ वटा सामुदायिक विद्यालय र १७० संस्थागत गरी जम्मा ३ सय ४६ विद्यालयहरूका विद्यार्थीहरूको एसइई परीक्षामा सहभागिता रहेका छन् ।