काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुने तालिका छ ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।
स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले नक्कली परिचयपत्र जारी गरेको भन्दै अनेरास्ववियुले मध्यराति तालाबन्दी गरेको हो । जसको निष्पक्ष छानबिन गर्न समेत सङ्गठनले माग गरेको छ ।
यसैबीच, सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । त्यस्तै, शंकर देव क्याम्पस, त्रिचन्द्र क्याम्पस, पब्लिक युथ क्याम्पस, त्रि वि क्याम्पस, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा पनि तालाबन्दी भएको छ ।
मंगलबार आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।
