काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८२ सालमा बैंक तथा वित्तिय संस्था बिदा हुने दिनको सूची सार्वजनिक गरेको छ । बैंकले २०८२ मा दसैँ र तिहारसहित कुल ४८ दिन बैंक बिदा रहने सूची सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका अनुसार आगामी बर्ष हुने सबैजसो चाडपर्वमा बैंकहरु बन्द हुनेछन् । राष्ट्र बैंकले सार्वजनिक गरेको सूची अनुसार, नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि बैंक बिदा हुनेछ। साथै, वैशाख १८ गतेको विश्व मजदुर दिवस र ९ मे, १० मे का दिनहरू सार्वजनिक बिदा हुनेछन्।
दसैँका अवसरमा, असोज ६ गते घटस्थापना र असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म बैंक बिदा रहनेछ। तिहारको दौरान पनि कात्तिक ३ गते लक्ष्मीपूजादेखि कात्तिक ७ गते भाइटिका सम्म बिदा रहनेछन्।
यस्तै, नयाँ वर्ष, विश्व मजदुर दिवस, बुद्धजयन्ती, गणतन्त्र दिवस, इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यका बैंकहरू पूर्ण बिदा हुनेछ । फागु पूर्णिमा पहाडी र हिमाली जिल्लामा तथा त्यसको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ ।
यस वर्ष पनि प्रत्येक शनिबार बैंक बिदा हुनेछ भने शुक्रवार भने आधा दिनको बिदा हुनेछ। थप रूपमा, प्रदेश सरकारले आफ्नो प्रदेशमा घोषणा गरेको बिदा अनुसार एक वर्षमा अधिकतम ६ दिनसम्म सार्वजनिक बिदा हुनेछ, जसको असर सम्बन्धित प्रदेशका कार्यालयमा मात्र हुनेछ।
नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि बैंकिङ र कार्यालय समय पनि निर्धारण गरेको छ। २०८२ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजे देखि अपराह्न ५ बजे सम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म रहनेछ। प्रत्येक शुक्रवार कार्यालय समय बिहान १० बजे देखि १ः३० बजेसम्म हुनेछ।
बैंकिङ समय पनि नयाँ तालिकाअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ समय बिहान १० बजे देखि अपराह्न ३ बजे सम्म हुनेछ। प्रत्येक शुक्रवार बैंकिङ समय बिहान १० बजे देखि मध्याह्न १२ः३० बजेसम्म रहनेछ।

_3ThOkMxGcB.png)