काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि निवेदन दिएर प्रारम्भिक सूचीमा परे पनि प्रस्तुतीकरण दिन छुटेका उद्यमीले पुनः अवसर पाउने भएका छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सुचना जारी गर्दै तोकिएको समयमा प्रस्तुतीकरणमा छुटेकालाई १३, १४ र १५ चैतमा समय छुट्याइएको जानकारी गराएको हो ।
यस मितिमा समेत नआए अर्को मौका नपाउने समेत प्रतिष्ठानले जनाएको छ । प्रस्तुतीकरणमा छुटेकालाई १२ चैतसम्म प्रतिष्ठानमा सम्पर्क गर्न भनिएको छ ।
यस कर्जामा न्यूनतम् ५ लाखदेखि अधिकतम् २५ लाख रुपैयाँसम्म सुहलियत ब्याजदरको कर्जा दिइने छ । कर्जाको अवधि अधिकतम् पाँच वर्षको हुनेछ । कर्जाको पहिलो किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजको रकम फिर्ता गर्न थाल्नुपर्नेछ ।
उद्यम तथा परियोजनालाई नै धितो मानेर ३ प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा दिने व्यवस्था कार्यविधिमा छ । यसका लागि एक वा एक भन्दा बढी बैंकलाई यस्तो कर्जा प्रवाह गर्ने गरी तोकिनेछ ।
स्टार्टअप उद्यम कर्जाका उद्योग व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको हुनुपर्नेछ । स्थापनापछिका कुनैपनि आर्थिक वर्षमा कारोबार वर्षमा १५ करोड नाघेको हुनुहुने छैन । यस्तो उद्योग नगाभी वा नटुक्र्याइकनै नयाँ व्यवसायका रुपमा रहेको हुनुपर्नेछ ।
प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्थाको रुपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएका उद्यम तथा व्यवसायले स्टार्टअप कर्जा पाउनेछन् ।