काठमाडौं। स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. टंक बाराकोटीले पदबहाली गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै उनलाई महानिर्देशक नियुक्त गरेका हुन् । बाराकोटीले शुक्रबार बिहानै पत्र बुझ्दै पदबहाली गरेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बन्ने दौडमा रहेका डा।बाराकोटी सचिवका लागि तेस्रो नम्बरमा सिफारिस भएका थिए। सचिव सिफारिसमा दोस्रो बरियताका डा.विकास देवकोटालाई गत साताको मन्त्रीपरिषद बैठकले सचिव नियुक्त गरेपछि डा. बाराकोटी सचिवको दौडबाट बाहिरिएका थिए।
डा. बाराकोटी बाहेक डा। संगिता कौशल मिश्रा पनि १२ औं तहकी डाक्टर हुन्। तर मिश्रालाई विभागको महानिर्देशकबाट मन्त्री पौडेलले नै हटाएका थिए। त्यसपछि पौडेलले हालका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई महानिर्देशक बनाएका थिए।
२०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी २०७९ चैत १३ मा १२औँ तहमा बढुवा भएका थिए। त्यसअघि उनी प्रदेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट हुँदै स्वास्थ्य मन्त्रालयमा आएका थिए ।