क्यानको वर्गीकरण : रोहित र सन्दीप ‘ए’ मा, कुशल र करण ‘बी’ मा झरे

क्यानको वर्गीकरण : रोहित र सन्दीप ‘ए’ मा, कुशल र करण ‘बी’ मा झरे

बिहिवार, फाल्गुण २९ २०८१
बिहिवार, फाल्गुण २९ २०८१
  • क्यानको वर्गीकरण : रोहित र सन्दीप ‘ए’ मा, कुशल र करण ‘बी’ मा झरे

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले २०२५ का लागि खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । पुरुष तथा महिला दुवै टिमका खेलाडीलाई ग्रेडअनुसार वर्गीकृत गर्दै मासिक तलब निर्धारण गरिएको छ ।

    क्यानले बुधबार सार्वजनिक गरेको वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा पाँच खेलाडी परेका छन् । कप्तान रोहितकुमार पौडेलसँगै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछाने यस श्रेणीमा छन् ।

    यसअघि ग्रेड ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल भने घटुवा भई ग्रेड ‘बी’ मा राखिएका छन् । ग्रेड ‘बी’ मा गुलशनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह समेत छन् । अनिल पहिलो पटक वर्गीकरणमा समेटिएका हुन् ।

    यस्तै, अलराउन्डर कुशल मल्ल र आरिफ शेख ग्रेड ‘बी’ बाट घटुवा भई ग्रेड ‘सी’ मा परेका छन् । सन्दीप जोरा र भीम सार्की पनि ग्रेड ‘सी’ कै खेलाडी हुन् ।

    पुरुष खेलाडीको केन्द्रीय सम्झौता छ महिनाको हुनेछ (जनवरी-जुन) र त्यसपछि प्रदर्शनका आधारमा पुनः वर्गीकरण गरिनेछ ।

    वर्गीकरण विवरण:

    ग्रेड ए: रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आशिफ शेख

    ग्रेड बी: कुशल भुर्तेल, गुलशनकुमार झा, करण केसी, ललितनारायण राजवंशी, अनिलकुमार साह

    ग्रेड सी: सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल

    ग्रेड डी: सागर ढकाल, लोकशबहादुर बम, साहव आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा, मयन यादव

    उदीयमान खेलाडी: दीपेश प्रसाद कँडेल, रुपेशकुमार सिंह, शुभ कंसाकार, अर्जुन कुमाल, सन्तोष यादव, अर्जुन घर्ती, हेमन्त धामी 

    महिला खेलाडी वर्गीकरण

    महिला क्रिकेटतर्फ ग्रेड ‘ए’ मा चार खेलाडी परेका छन् ।

    कप्तान इन्दु बर्मा, अलराउन्डरद्वय रुविना क्षेत्री र सीता रानामगर यसअघि पनि ग्रेड ‘ए’ मै थिए। यसपटक पूजा महतोले ग्रेड ‘सी’ बाट बढुवा भई ग्रेड ‘ए’ मा स्थान बनाएकी छन् ।

    नेपाललाई यु-१९ विश्वकप र एसिया कपमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेकी पूजा यसअघि ग्रेड ‘सी’ मा थिइन् ।

    यसैगरी, ग्रेड ‘बी’ मा कविता कुँवर यथावत् रहेकी छन्। ग्रेड ‘सी’ मा भने कविता जोशी र सम्झना कुमारी खड्का परेका छन् ।

    महिला खेलाडीको केन्द्रीय सम्झौता पनि पुरुषतर्फकै जस्तै जनवरीदेखि जुनसम्मको हुनेछ, जसपछि पुनः वर्गीकरण गरिनेछ ।

    वर्गीकरण विवरण:

    ग्रेड ए: इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, सीता रानामगर

    ग्रेड बी: कविता जोशी

    ग्रेड सी: कविता कुँवर, सम्झना कुमारी खड्का

    ग्रेड डी: बिन्दु रावल, अलिशाकुमारी यादव, मनीषा कुमारी उपाध्याय, साना प्रविन, रिया शर्मा, सीमाना के.सी., कृष्णा गुरुङ, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, ज्योत्सनिका मरासिनी, रचनाकुमारी चौधरी

    पुरुषतर्फ: ग्रेड ‘ए’ का खेलाडीले मासिक १ लाख, ग्रेड ‘बी’ का खेलाडीले ७० हजार, ग्रेड ‘सी’ का खेलाडीले ५० हजार र ग्रेड ‘डी’ का खेलाडीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    महिलातर्फ: ग्रेड ‘ए’ का खेलाडीलाई ५० हजार, ग्रेड ‘बी’ का खेलाडीलाई ३५ हजार रुपैयाँ दिइनेछ ।

    क्यानका अनुसार खेलाडीको प्रदर्शनका आधारमा आगामी जुलाईदेखि डिसेम्बरसम्मका लागि पुनः वर्गीकरण गरिनेछ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij