काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले युवतीले मानसिक तनाव दिएको भन्दै आत्मदाहको प्रयास गरेका छन् । उत्तम कार्की नामका एक युवाले मङ्गलबार राति फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैँ आगो लगाएका थिए ।
यो घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरी अस्पताल पुर्याएको हो । काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराका अनुसार उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । उनको हात र अनुहारमा जलेको छ । स्वास्थ्य अवस्था सामान्य छ ।
उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।
कार्कीले ती युवतीको उजुरीका आधारमा यसअघि आफू १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको पनि उल्लेख गरेका छन् । त्यसपछि उनी आफैंले आफ्नो शरीरमा आगो लगाएका थिए ।