काठमाडौं । स्विजरल्याण्डको वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ भने पहिलो स्थानमा भारत रहेको छ ।
काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो ।
आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब छ । त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको छ । त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैंसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ ।
यसैगरी चितवनको भरतपुर र धनकुटाको वायुको गुणस्तर पनि अति खराब स्तरमा छ । अहिले काभ्रेको धुलिखेल, इलाम र बाँकेको नेपालगञ्ज क्षेत्रको हावाको गुणस्तर पनि खराब स्तरमा रहेको छ ।
वातावरण विभागका अनुसार ०–५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१–१०० मध्यम, १०१–१५० हुँदा अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।