बीमाको रकम हत्याउन आफ्नै पसलमा आगजनी, सञ्चालक पक्राउ

बीमाको रकम हत्याउन आफ्नै पसलमा आगजनी, सञ्चालक पक्राउ

सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • बीमाको रकम हत्याउन आफ्नै पसलमा आगजनी, सञ्चालक पक्राउ

    काठमाडौं । एक व्यक्तिले बीमा रकम भुक्तानी लिने मनसायले आफ्नो पसलमा आफैं आगो लगाएका छन् । गत पुसमा मात्र पोखरा–८ न्युरोडमा खुलेको शर्मा आइटी हबमा १ करोड रुपैयाँको बीमा रकम दाबी गर्न सञ्चालक आफैंले आगो लगाएको खुलेको हो । यही फागुन ११ गते हबमा आगलागी भएको थियो ।

    यसका सञ्चालक रमेश शर्माले मोबाइल चार्ज गर्ने क्रममा आगो लागेको भन्दै निवेदन दिएका थिए । नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

    पसलमा आगो लगाएर क्षतिपूर्ति माग गर्दै बीमा रकम दाबी गर्ने गलत मनसाय राखेको अभियोगमा प्रहरीले सञ्चालक रमेश शर्मा लोहारलाई पक्राउ गरेको छ ।

    यसअघि गत साउन १६ गते बिहान पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा पनि यसरी नै सञ्चालक आफैंले आगो लगाएको घटना सार्वजनिक भएको थियो ।

    स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको बताइएको थियो । त्यो बेला गहतराजले ‘इन्भर्टर सर्ट’ भएर आगो लागेको बताएपछि प्रहरीले आशंका गर्दै अनुसन्धान थालेको थियो ।

    अनुसन्धानपछि पसलमा घाटा खाएपछि बीमाबापतको रकम दाबी गर्ने गलत मनसायले आफैंले आगो लगाएको अभियोगमा गहतराज र उनलाई सघाउने पवन नेपाल पक्राउ परेका थिए । अहिले उनीहरु पुर्पक्षका लागि थुनामा रहेका छन् । 

    अहिले शर्माले पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेको र आगलागीको कारणबारे खुलाएको तथ्यमाथि आशंका भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । कामदार बिदामा रहेको अवस्थामा रमेश आफैंले आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । 

    घटनाको प्रकृति अध्ययन, घटनास्थल विवरण शंकास्पद भेटिएपछि प्रहरीले सञ्चालकमाथि नै अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि आफैंले आगो लगाएको प्रशस्त आधार प्रमाण भेटिएर उनलाई पक्राउ गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij