काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी लामिछानेलाई अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको हो ।
थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दामा लामिछानेसँग अहिलेसम्मकै सबैभन्दा धेरै धरौटी माग्ने आदेश आएको हो । यसअघि कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिई तारिखमा राख्न आदेश दिएको थियो ।
सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।
इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।
सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।