कानुनले दिएको अधिकार उपयोग गर्न मन्त्री दाहालको निर्देशन

कानुनले दिएको अधिकार उपयोग गर्न मन्त्री दाहालको निर्देशन

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • कानुनले दिएको अधिकार उपयोग गर्न मन्त्री दाहालको निर्देशन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नहिच्किचाईकन कानुनले दिएको अधिकार उपयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नियत सफा राखेर दायित्वलाई नबिर्सी कानुनले दिएको अधिकार उपयोग गर्न उनले आग्रह गरेका छन् । 

    नेपाल निजामती कर्मचारी सङ्गठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभागीय समितिको १२औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री दाहालले शीघ्र सेवा र तीव्र विकासको मर्मलाई आत्मसात् गर्न आग्रह गरे । “कर्मचारीले आफ्नो अधिकार र दायित्वलाई नभुली कार्य सम्पादन गर्नुपर्छ”, उनले भने ।  

    सरकार गठन भएको ६ महिनाको अवधिमा सरकारले थुप्रै काम गरेको मन्त्री दाहालको भनाइ थियो । काठमाडौँ तराई–मधेश द्रुत मार्गमा पर्ने धेद्रे सुरुङ तथा सिद्धबाबाको सुरुङ छिचोलिएको, नागढुङ्गा सुरुङ् मार्ग सञ्चालनका लागि ‘मोडालिटी’ तयार भइरहेको, मुग्लिन–पोखरा तथा, नारायणघाट–बुटवल सडक निर्माणले गति लिएको, केही प्रमुख विधेयक संसद्को यही हिउँदे अधिवेशनमा पेस हुने अवस्थामा पुगेको उनले उल्लेख गरे । 

    बिपी राजमार्गसहितका सडकहरु बाढी–पहिरोले क्षत–विक्षत गरे पनि तुरुन्त यातायात सञ्चालनको अवस्थामा ल्याइएको, बेलिब्रिज धमाधम जडान भएको र भइरहेका भन्दै मन्त्री दाहालले आगामी वर्षायाममा सहज रुपमा यातायात सञ्चालनको वातावरण बनाउन मन्त्रालय लागिपरेको उल्लेख गरे । 

    कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कर्मचारी सङ्गठन तथा ट्रेड युनियन सृजनशील हुन सके कार्य सम्पादन चाँडो र प्रभावकारी हुनसक्ने बताउनुभयो । कर्मचारी अगुवाहरुले संसद्को आगामी अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन पारित हुनुपर्नेमा जोड दिए  ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij