काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्। उनको हकमा श्रीमती मञ्जु पाण्डेले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन् ।
आइतबार सचिव पाण्डेको रिट निवेदन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको थियो। तर रिट प्रधानन्यायाधीशले हेर्न नमिल्नेमा राखेका छन्। अर्को पेसी सोमबारका लागि राखिएको छ।
बन्दीप्रत्यक्षीकरणको रिटमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौं, महान्यायाधीवक्ताको कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय अनि सर्वोच्च अदालतलाई समेत विपक्षी बनाइएको छ ।
२०८० असार १ गते जिल्ला अदालत काठमाडौंले उनीसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनी पनि मुझिएका थिए। २०८० वैशाख २० गते पक्राउ परेका पाण्डे अदालतको आदेशअनुसार थुनामा छन् । उनीविरुद्धको नक्कली शरणार्थी प्रकरणको ठगी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।