काठमाडौं । यो साता पनि सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा साताको अन्त्य सम्ममा सुनको मूल्य प्रतितोला ३५ सय रुपैयाँले वृद्धि भएको हो ।
माघ ६ गते आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ थियो । शुक्रबार मूल्य बढेर प्रति तोला १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको हो । सोमबार सुनको मूल्य १ लाख ५७ हजार थियो भने मंगलबार यो बढेर १ लाख ५८ हजार १ सय पुगेको थियो ।
माघ ९ गते बुधबार सुनको मूल्य पुन : बढेर १ लाख ६० हजार पुगेको थियो । बिहीबार भने सुनको मूल्य केही घटेर १ लाख ५९ हजार ६ सय रुपैयाँ भएको थियो ।
उता, चाँदीको मूल्य पनि केही बढेको छ । आइतबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँ रहेकोमा माघ ११ गते शुक्रबार यसको मूल्य १ हजार ८ सय ८० पुगेको संघले जनाएको छ ।
हालसालै अमेरिकी राष्ट्रपतिको सपथ लिएका डोनाल्ड ट्रम्पले आयातमा २५ प्रतिशतसम्म कर लगाउने बताएका थिए । यससँगै, सुन र चाँदीको माग बढ्न सक्ने विश्लेषकहरुको भनाइ छ ।
शुक्रबार , यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको भाउ प्रतिऔंस २२ डलरले बढ्यो । सो दिन, सुन प्रतिऔंस २ हजार ७ सय ७८ डलर बराबर पुगेको थियो । एकातर्फ, डलर कमजोर हुँदा सुनको भाउ बढ्नुमा दबाब पुगेको हो ।