काठमाडौं । महानगर यातायात प्रालिले सेवा विस्तार गर्दै आजबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ । विहीबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड आयोजित एक कार्यक्रममा उक्त ४० वटा नयाँ बसको साँचो महानगर यातायातलाई हस्तान्तरण गरिएको हो ।
२० करोड लगानीमा उक्त बस सञ्चालनमा आएको हो । यी बसहरू ३२ सिट क्षमताका हुन्। बसको लम्बाई साढे आठ मिटर छ। थपिएको बस बिहिबारदेखि नै चक्रपथको विभिन्न रुटसहित चन्द्रागिरी, गोदाम, थानकोटदेखि काभ्रेको बनेपाहुँदै धुलिखेलसम्म पुग्नेछ ।
नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ। २०७२ सालमा काठमाडौंको चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो।
कम्पनीले आगामी दुई महिनाभित्रमा दश वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ।