बाँकेमा ३ सय उद्योग तथा फर्म खारेज, ४ वर्षदेखि खारेजी गर्नेको सङ्ख्या बढ्दो

बाँकेमा ३ सय उद्योग तथा फर्म खारेज, ४ वर्षदेखि खारेजी गर्नेको सङ्ख्या बढ्दो

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • बाँकेमा ३ सय उद्योग तथा फर्म खारेज, ४ वर्षदेखि खारेजी गर्नेको सङ्ख्या बढ्दो

    बाँके। चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको समयावधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा ३ सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन्।

    घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा उद्योगतर्फ १ सय ८ र वाणिज्यतर्फ २ सय ३८ उद्योग तथा फर्म खारेज भएका छन्।

    ‘चालु आर्थिक वर्षको ६ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलकलगायत उद्योगतर्फ १ सय ८ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म २ सय ३८ गरी जम्मा ३ सय ४६ उद्योग तथा फर्महरू खारेज भएका छन्,’ प्रमुख बुढाथोकीले भने, ‘लगतकट्टा (खारेजी) का साथसाथै नयाँ उद्योग तथा फर्महरू दर्ता पनि हुँदै आएका छन्। तर पछिल्ला केही वर्षदेखि लगातार खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ।’

    प्रमुख उद्योग अधिकृत बुढाथोकीका अनुसार ६ महिनाको समयावधिमा विभिन्न प्रकृतिका ३ सय ६८ नयाँ उद्योग र वाणिज्यतर्फ ४ सय १० नयाँ फर्म दर्ता भएका छन्।

    ‘कार्यालयको तथ्याङ्कमा विगत ४/५ वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ भने खारेज गर्नेको सङ्ख्या बढेको छ,’ उनले भने, ‘आर्थिक मन्दी, बैंकको चर्को ब्याज, खुला सिमानालगायत कारण भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरूले गुनासो गर्नुहुन्छ।’

    युवाले उद्योग संचालन गर्नका लागि ऋणधन गरेर उद्योग स्थापना गरे पनि विविध कारणले गर्दा उद्योग टिकाइराख्न र निरन्तर संचालन गर्न नसकेका कारण खारेज गर्नु परेको उनले बताए।

    कार्यालयका प्रशासन अधिकृत सुशील ढकालका अनुसार चालु आवको ६ महिनाको समयमा उद्योगतर्फ ६ सय २७ र वाणिज्यतर्फ १ हजार २ सय ५६ फर्म नवीकरण भएका छन्। त्यसैगरी, पुँजी वृद्धि, ठाउँसारी, नाम परिवर्तन, नामसारी, ठेगाना परिवर्तनलगायत उद्योगतर्फ ३ सय ४० र वाणिज्यतर्फ ४ सय ७७ संशोधन गरिएको छ।

    त्यसैगरी, वाणिज्यतर्फ नयाँ फर्म दर्ता हुनेभन्दा खारेज गर्नेकै सङ्ख्या बढिरहेको छ। उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्राइभेट फर्म ६ सय ३४ र साझेदारी फर्म १४ गरी कुल ६ सय ४८ नयाँ फर्म दर्ता भएका थिए।

    आर्थिक वर्ष ०८०/८१ मा प्राइभेट फर्म ४ सय ५० र साझेदारी फर्म १२ गरी ४ सय ६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष ०७९/८० मा ३ सय १२ प्राइभेट फर्म खारेजीमा परेका थिए। केही वर्षयता अघिल्लो आवमा भन्दा नयाँ आवमा क्रमशः दर्ता हुने क्रम घट्दै गएको हो भने खारेजी गर्ने क्रम बढ्दै गएको हो।

    कार्यालयको तथ्याङ्कले विगत ४ वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको देखाएको हो।

    नयाँ दर्ता/स्थापना भएका उद्योगहरूमा १ सय ७ महिला र २ सय ८६ जना पुरुष गरी जम्मा ३ सय ९३ जना उद्यमी छन् भने ६ सय २० जना महिला र आठ सय ८१ पुरुष गरी कुल १ हजार ५ सय एकजनाले रोजगारी पाए छन्। नयाँ उद्योग दर्ता, नवीकरण, संशोधन लगायतबाट यस चालु आवको पुससम्ममा उद्योगतर्फ ४० लाख ४४ हजार रुपैयाँ र वाणिज्यतर्फ ७६ लाख ६१ हजार ५ सय ८५ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

    कार्यालयको गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार विगत ४ वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको हो। गत आवमा विभिन्न प्रकृतिका ७ सय ६० नयाँ उद्योग दर्ता भएका थिए भने २ सय ३० उद्योग खारेज भएका थिए। आर्थिक वर्ष २०७९/८० मा ८ सय ७६ उद्योग दर्ता भएका थिए भने १ सय ६० उद्योग खारेजी भएका थिए।

    त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा १ हजार ७ सय १२ उद्योग दर्ता भएका थिए सो वर्षमा १ सय ३८ उद्योग खारेज भएका थिए। आर्थिक वर्ष २०७७/७८ मा २ हजार ३ सय ४१ उद्योग दर्ता भएकामा ९६ उद्योग खारेज भएका थिए। कार्यालयका अनुसार नयाँ दर्ता गरिएका उद्योगमा ८१ करोड ६५ लाख ७५ हजार रुपैयाँ र वाणिज्यतर्फ ५७ करोड ९५ लाख ३१ हजार रुपैयाँ बराबरको पुँजी लगानी छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij