भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक दैनिक पाँच घण्टा सडक बन्द गरेरमात्र निर्माण कार्यलाई तिब्रता दिन सकिने भएको छ । सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले सडक तिब्र रुपमा निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको हो।
भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुले आयोजनासँग माग गरेपछि आयोजनाले भक्तपुर काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुसँग सडक निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्न प्रस्ताव राखेको हो ।
आयोजनासँग भएको छलफलमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आयोजनाको काम सुस्त गतिमा भइरहेकामा असन्तुष्टि व्यक्त गर्दै सूर्यविनायक–धुलिखेल राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । जनतालाई समस्या नपर्नेगरी स्थलगत अवालोकन गरेर मात्र आंशिक रुपमा बाटो बन्द गर्नुपर्ने प्रमुख थापाको भनाइ थियो ।
२०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो । सडक निर्माणमा ढिलाई भएपछि नगरप्रमुखहरु संयुक्त अनुगमनमा निस्केका थिए ।
अनुृगमनका क्रममा नगर प्रमुखहरुले सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने सुझाएका थिए । रात्रिकालीन समयमाकेहि समय रोकेर भएपनि निर्माण कार्य अघि बढाउँनु उचित हुने उनीहरुको भनाई थियो ।
वैकल्पिक सडकबारे पुर्व जानकारी दिएर सडक निर्माणको काममा गती दिनुपर्नेमा नगर प्रमुखहरुको जोड थियो । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले सडक निर्माणको काम गर्ने निर्माण व्यवसायीले जनतालाई कम समस्या पर्नेगरी काम अघि बढाउँनुपर्ने बताए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रात्रिकालीन समयमा सडक निर्माणको काम गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए । सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि तीन अर्ब ८८ करोडमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको थियो ।