काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसारको अभियोगमा ३८ करोड मागदाबीसहित ५ जनाविरुद्ध उच्च अदालत पाटनमा सोमबार मुद्दा दायर गरेको छ । विभागका अनुसार गत साउनमा रसुवा नाकाबाट तीन किलो सुन लुकाइल्याएको अवस्थामा बरामद भएको थियो ।
विभागमा अनुसार सुनसहित पक्राउ परेकामध्ये रामकृष्ण वाइबा र बुद्धिबहादुर तामाङलाई मुद्दासहित अदालत बुझाइएको छ ।
सुनील तामाङ, निमा डुण्डूप तामाङ र कमल घले फरार छन् । उनीहरू सबै रसुवाका हुन् । उनीहरूविरुद्ध जनही ३ करोड ८० हजार ९१ हजार बिगो र बिगोअनुसार शतप्रतिशत जरिवानासमेत माग गरेर मुद्धा दायर गरिएको हो ।
पाँच जना प्रतिवादीविरुद्ध हुन आउने १९ करोड ४ लाख ५५ हजार बिगो र बिगोअनुसार शतप्रतिशत जरिवानासमेत ३८ करोड ९ लाख १० हजार र जेल सजायसमेत माग गरेर मुद्दा दायर गरेको विभागमा सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनीहरूले ना ६ ख को मालवाहक गाडीमा फल्स बटम बनाई चीनको केरुङ नाकाबाट रसुवा भएर सुन काठमाडौं भित्र्याउने क्रममा बरामद गरिएको थियो ।