काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । उनले सोमबार राति नेपालीय समय अनुसार १०:४५ बजे अमेरिकी संसद क्यापिटल हिलमा पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्ट्सले शपथ ग्रहण गराए ।
शपथ ग्रहण समारोहमा ट्रम्पकी श्रीमती मेलानियाले बाइबल समातेर उभिएकी थिइन् । ट्रम्पको शपथपछि, संसदको क्यापिटल रोटुन्डा हल केही समयसम्म तालीको गडगडाहटले गुन्जियो । ट्रम्प २०१७ देखि २०२१ सम्म संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपति थिए । उनीभन्दा अगाडि रिपब्लिकन नेता जेडी भान्सले अमेरिकाको ५० औं उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए ।
शपथ ग्रहणपछि ट्रम्पले ३० मिनेटसम्म राष्ट्रका नाममा सम्बोधन गरे । आफ्नो पहिलो भाषणमा उनले भने, 'अमेरिकाको स्वर्ण युग भर्खरै सुरु भएको छ ।' यस दिनदेखि, देश फेरि समृद्ध हुनेछ र विश्वभर सम्मानित हुने दाबी गरे ।
अबको केही समयपछि हामी मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर संयुक्त राज्य अमेरिकाको खाडी राख्ने, ट्रम्पले बताए । पानामा नहरको बारेमा उनले भने, ‘यस नहरका कारण हामीमाथि धेरै नराम्रो व्यवहार गरिएको छ । यो नहर कहिल्यै पनि पानामा देशलाई उपहारको रूपमा दिनु हुँदैनथ्यो । आज चीनले पनामा नहर सञ्चालन गरिरहेको छ । हामीले यो चीनलाई दिएनौं । हामीले यो पानामा देशलाई दियौं । हामी यसलाई फिर्ता लिनेछौं ।’
उनले भने, 'हामी अवैध आप्रवासीहरूको प्रवेशमा प्रतिबन्ध लगाउनेछौं र समात्ने र छोड्ने प्रणाली अन्त्य गर्नेछौं । हाम्रो देशमाथिको यो विनाशकारी आक्रमण रोक्न म दक्षिणी सिमानामा सेना पठाउनेछु ।’
'म अमेरिकामा सबै सरकारी सेन्सरशिप तुरुन्तै रोक्न र अभिव्यक्ति स्वतन्त्रता पुनर्स्थापित गर्न कार्यकारी आदेशमा पनि हस्ताक्षर गर्नेछु । आजदेखि अमेरिकी सरकारको आधिकारिक नीति हुनेछ पुरुष र महिला दुई लिङ्ग मात्र हुनेछन्।’ उनले आफ्नो भाषणमा भने ।
१० घोषणाहरू
१ अन्य देशहरूमा भन्सार लगाउन बाह्य राजस्व सेवाको गठन।
२. शिक्षा प्रणाली र स्वास्थ्य प्रणालीमा परिवर्तन ल्याउने ।
३ अवैध आप्रवासीहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र समात्ने र छोड्ने प्रणाली अन्त्य गर्ने।
४। घुसपैठ रोक्न मेक्सिकोको सीमामा आपतकाल घोषणा गरिनेछ।
५ लागूऔषध माफियालाई विदेशी आतंकवादी संगठन घोषणा गरिने।
६ विदेशी गिरोहहरूलाई निर्मूल पार्न विदेशी शत्रु ऐन, १७९८ लागू गर्ने ।
७। मेक्सिकोको खाडीको नाम परिवर्तन गरी अमेरिकाको खाडी राखिने ।
८ ट्रान्सजेन्डर प्रणालीको अन्त्य हुनेछ, पुरुष र महिला गरी दुई लिङ्ग मात्र हुने।
९ विद्युतीय सवारी साधनको बाध्यता अन्त्य गर्ने ।
१० पानामा नहर पानामाबाट फिर्ता लिइने ।