वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब ५ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आर्थिक बर्षको छ महिनाको अवधिमा १ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६.८४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व सङ्कलनमा सुधारोन्मुख रहेको बताए । “सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छ,” उनले भने, “साउनयताकै पुस महिनामा उच्च राजस्व सङ्कलन भएको छ ।”
वीरगञ्ज भन्सारले चालु आर्थिक बर्षको साउन महिनामा १२ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्यो । त्यसैगरी, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोज महिनामा १३ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
त्यसैगरी, कात्तिकमा ११ अर्ब १० करोड रुपैयाँ, मङ्सिरमा भने १४ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । पुसमा चालु आर्थिक बर्षकै सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले चालु आर्थिक बर्षको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व सङ्कलन गरेको हो । भन्सार विभागले कार्यालयका लागि वार्षिक २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ रकम राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ ।
त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आर्थिक बर्षको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।