काठमाडौं । प्रेमिकाले धोका दिएको भन्दै झापा दमकका एक पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दमक नगरपालिका वडा नम्बर–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाइएको छ । थापाको विराट टिचिङ अस्पतालमा उपचार हुँदैछ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । कपाल, घाँटी, हातलगायत शरीरका विभिन्न भागमा आगोले पोलेको चोट रहेको प्रहरीले जनाएको छ ।
अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी थिइन् । इन्द्रले आफूलाई धोका दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् । प्रहरीले इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको छ ।