चौवालिस हजार बढीले गरे दियालो बङ्गलाको अवलोकन

चौवालिस हजार बढीले गरे दियालो बङ्गलाको अवलोकन

सोमवार, माघ ७ २०८१
सोमवार, माघ ७ २०८१
  • चौवालिस हजार बढीले गरे दियालो बङ्गलाको अवलोकन

    चितवन । यहाँस्थित भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिइ सर्वसाधारणका लागि खुल्ला गरिएको दियालो बङ्गला अवलोकन गर्नेको सङ्ख्या ४४ हजार ८ सय ८१ पुगेको छ । 

    गत असार २५ गतेदेखि सर्वसाधारणका  लागि खुल्ला गरिएको दियालो बङ्गला गत पुस मसान्तसम्ममा १ सय ३८ जना विदेशी पर्यटकले अवलोकन गरेका छन् ।

    भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा खुल्ला गरिएको बङ्गला अवलोकन गर्न आएकाहरुबाट रु ३८ लाख ३७ हजार ९ सय ५० राजस्व सङ्कलन भएको महानगरपालिकाको पर्यटन शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिए । सर्वसाधारणलाई प्रवेश शुल्क रु एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । 

    यसैगरी, छिमेकी राष्ट्रहरु भारत र चीनका पर्यटकहरुका लागि रु एक सय ५०, ती बाहेकका सार्क राष्ट्रका पर्यटकका लागि २ सय र अन्य मुलुकका पर्यटकका लागि ३ सय शुल्क तय गरिएको छ । दैनिक घुम्न आउनेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

    महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले दियालो बङ्गला चितवनको एउटा पर्यटकीय गन्तव्यका रुपमा थपिएको बताए । उनले भने, “सदरमुकामबाट नजिक रहेको यस क्षेत्र लामो समय पछि सर्वसाधारणका लागि खुल्ला हुँदा एउटा गन्तव्यका रुपमा थपिएको छ ।” उक्त बङ्गला भरतपुर महानगरपालिका–१ मा छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो ।

    सङ्कलित राजस्व रकमको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउनेगरी व्यवस्थापन गरिएको हो । महानगरप्रमुख रेनु दाहालले बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताए । 

    राजतन्त्रका बेला जाडो महिनामा राजपरिवारले यही दरबारमा समय बिताउने गरेकाले यहाँको महत्व र यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको हो । यो राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ हो । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।

    दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडीपोखरीमा अहिले पानी छैन ।

    प्रमुख दाहालले लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij