काठमाडौं । सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-३ सेम्बुङमा खाँदबारी-किमाथांका सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ ।
भोटखोला-३ सेम्बुङ डाँडास्थित खाँदबारी-किमाथांका सडक एक दिनपछि खुलेको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए ।
शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुंगासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनःसञ्चालनमा आएको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए ।
सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।