काठमाडौं । मलेसियामा सुरु भएको आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
बंगलादेशले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र बंगलादेशबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरु हुनेछ ।
पहिलोपटक विश्वकप खेल्न लागेको नेपाली महिला टिमले उद्घाटन खेलमा जित हासिल गर्दै विजयी सुरुवात गर्न चाहन्छ । बंगलादेशलाई पराजित गरे नेपालको सुपर-६ को सम्भावना बलियो हुनेछ ।
समूहबाट शीर्ष तीन टिम सुपर-६ मा पुग्ने भएकाले नेपाललाई एक जितले मात्र पनि सुपर सिक्समा पुर्याउन सक्छ । त्यसैले बंगलादेशविरुद्ध नेपालले जित निकाले त्यो सम्भावना झन् बलियो बन्नेछ । नेपालले यसअघि सन् २०२४ को डिसेम्बरमा मलेसियामा भएको यु-१९ एसिया कपमा बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो ।
चार समूहमा विभाजित १६ टोली सम्मिलित विश्वकपमा नेपाल समूह 'डी' मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपालले २० जनवरीमा स्कटल्याण्ड र २३ जनवरीमा अस्ट्रेलियासँग खेल्नेछ ।