काठमाडौं । काठमाडौं जिल्ला अदालतबाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद पाएको छ । बुधबार भएको घटनालगत्तै आक्रमण गर्ने व्यक्ति ललितकुमार केसी पक्राउ परेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेकै कारण उनका कार्यकर्ताले वरिष्ठ अधिवक्तामाथि आक्रमण गरेका हुन् । आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका छन् । उनको जाहेरीको आधारमा ललितविरुद्ध म्याद थप भएको हो । प्रहरीले थप आक्रमणकारीहरूलाई खोजी रहेको छ ।
पक्राउ परेका केसीलाई सिहंदरबार वृत्तमा थुनामा राखिएको छ । प्रहरीका अनुसार उनले आफू घरजग्गा कारोबारी रहेको बयानमा बताएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले थुनामा रहेका केसीले हातपात गर्नुको स्पष्ट कुनै कारण बताएका छैनन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधबार स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षका तर्फबाट बहस गरेर फर्किने क्रममा हातपात भएको हो ।
त्यसलगत्तै उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगेको थियो । अधिवक्ता त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीपीडितका तर्फबाट बहस गरेका थिए ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको थुनछेक बहसका क्रममा बुधबार प्रतिवादीका तर्फबाट सरकारी वकिलहरुले जवाफी बहस गरेका थिए ।