काठमाडौं । त्रिभुनव आर्मीलाई हराउँदै नेपाल पुलिस क्लव जय ट्रफी कपको च्याम्पियन बनेको छ । विभागीय आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै पुलिस क्लब जय ट्रफी पुरुष इलाइट कप–२०२५ को च्याम्पियन बनेको हो ।
बिहीबार पर्साको वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न फाइनलको अन्तिम दिन पुलिसबाट पाएको १०३ रनको लक्ष्य पछ्याएको आर्मीले सबै विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो ।
खेलको पहिलो इनिङ पुलिसले १३३ रनमा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको आर्मीले १७० रन बनाउँदै पुलिसविरुद्ध ३७ रनको अग्रता बनाएको थियो ।
दोस्रो इनिङ पुलिसले १३९ रन बनाएपछि आर्मीले जितका निम्ति १०३ रनको लक्ष्य पाएको थियो । तर, दोस्रो इनिङमा पुलिसबाट सागर ढकाल र ललित नारायण राजवंशी चम्किएपछि आर्मी ७४ रनमै समेटिएको हो ।
दोस्रो इनिङमा आर्मीका ओपनर इम्रान सेखबाहेक, अन्य ब्याटरले राम्रो ब्याटिङ गर्न सकेन । इमरानले सर्वाधिक २८ रन बनाए । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन थप्दा अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।
आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले ६ विकेट लिए । सागरले १४।२ ओभरमा एक मेडन फ्याँक्दै ३५ रन खर्चिए । यस्तै, ललितले १५ ओभर बलिङ गर्दै दुई मेडन फ्याँक्दै ३९ रन खर्चिएर चार विकेट लिए ।
दोस्रो इनिङमा पुलिसका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ रन बनाएका थिए । दिलीप नाथले ३४ रन जोड्दा राशिद खानले १८ र अमित श्रेष्ठले १३ रन थपे ।
दोस्रो इनिङमा बलिङतर्फ आर्मीका साहब आलम र बसिर अहमेदले समान पाँच विकेट लिएका थिए । साहब आलमले २५ ओभर बलिङ गर्दा चार मेडन फ्याँक्दै ७५ रन खर्चिए । यस्तै, बसिरले २२।१ ओभरमा ६ मेडन फ्याँक्दै ४९ रन खर्चिएका थिए ।