काठमाडौं । नेपाल आयल निगमले धनगढीस्थित सुदूपश्चिमाञ्चलमा प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने योजना सार्वजनिक गरेको छ । आयल निगमको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई इन्धन डिपो, सिनामंगलमा आज पत्रकार सम्मेलन गर्दै निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख प्रदीपकुमार यादवले यस्तो योजना सार्वजनिक गरेका हुन् ।
कैलाली जिल्लाको गोदावरीमा २० बिघा १६ कठ्ठा ८ धुर जग्गा डिपो स्थान्तरणका लागि पहिचान गरिएको निगमले जनाएको छ । यस्तै, संयोजक यादवले डिपो स्थान्तरणका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको समेत जानकारी गराए । धनगढी उपमहानगरपालिकाको चटकपुरस्थित हालको डिपो घना बस्तीबीचमा रहेकाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सुरक्षित स्थानमा सार्ने योजना बनाएको पनि यादवले बताए ।
परियोजना प्रमुख यादवले भने “एक बिघा आठ कट्ठामा सञ्चालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले डिपो स्थान्तरण अनिवार्य भएको हो ।” २०३७ सालमा स्थापना गरिएको उक्त डिपोले हालको पेट्रोलियम पदार्थको माग धान्न नसक्नुका साथै भौतिक पूर्वाधार पनि जीर्ण भएकाले स्थान्तरण गर्नुपरेको उनले बताए ।

यादवले २०८२ वैशाख पहिलो हप्ताभित्र नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट डीपीआर एवं डिपो निर्माणको शिलान्यास गर्ने बताए । ‘२०८४ साल वैशाखभित्र नयाँ डिपो सञ्चालनमा ल्याइने छ’– उनको नाई थियो । जग्गा अधिग्रहण र डिपो निर्माणका लागि ३ अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको छ । काठमाडौँ विश्वविद्यालयले डिपोको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माण गर्ने निगमले जनाएको छ ।
यसअघि डिपो सार्न निगमले कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र ६ मा अवस्थित राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गा लिने तयारी गरेको थियो । पुनर्वास नगरपालिकाले जग्गा प्राप्तिको सिफारिस दिन अस्वीकार गरेपछि अर्को जग्गा खोज्नु परेको हो ।
हालको डिपोमा पेट्रोल र डिजेल ७६०/७६० किलोलिटर र मट्टितेल ७० किलोलिटर भण्डारण क्षमता रहेको छ भने नयाँ बन्ने स्मार्ट डिपोमा पेट्रोल १ हजार ८ सय किलोलिटर, डिजेल ६ हजार ६ सय किलोलिटर र मट्टितेल ५ सय किलोलिटर भण्डारण क्षमता निर्माण गरिनेछ । सो डिपोबाट सुदूरश्चिमाञ्चका नौ जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउनु पर्ने हुन्छ ।
निगमको चालु आ.व.को बजेटमा सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीतिअनुरूप कर्णाली र सुदूपश्चिम प्रदेशमा जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको परियोजना संयोजक यादवको भनाई थियो ।

यस्तै, काठमाडौं विश्व विद्यालयका पशर्मश दाता इन्जिनियर प्रदिप पाण्डेका अनुसार हाल १ विघा ८ कठ्ठामा सञ्चालनमा रहेको धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनका साथै व्यावसायिक माग समेत धान्न नसक्ने भएकाले डिपो स्थानान्तरण गर्न लागेको जानकारी दिए ।
यस्तै, डिपोबाट दैनिक ८० किलोलिटर पेट्रोल, २५० किलोलिटर डिजेल बिक्री हुन्छ । डिपोमा हाल ७ दिनको माग पुग्ने गरी ७६० किलोलिटरको २ वटा डिजेलको भर्टिकल ट्याँकी छ भने ७६० किलोलिटरकै १ वटा पेट्रोलको डिपो छ ।
यसवाहेक ७०–७० किलोलिटरको पेट्रोल, डिजेल र मट्टिटेलको तीनवटा अन्डरग्राउण्ड ट्याँकी छ । यसका साथै हाल डिजेल ६ दिन, पेट्रोल ९ दिन मात्रै माग धान्न सक्ने पाण्डेले जानकारी दिए ।
