२० वटा सवारीको प्रदूषण परीक्षण गर्दा ६ वटा फेल

२० वटा सवारीको प्रदूषण परीक्षण गर्दा ६ वटा फेल

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • २० वटा सवारीको प्रदूषण परीक्षण गर्दा ६ वटा फेल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो पालिकाभित्र सञ्चालनमा हुने सवारीको प्रदूषण परीक्षण गरेको छ । महानगरपालिकाले महानगर प्रहरी बल, वातावरण विभाग र ट्राफिक प्रहरीले संयुक्त रुपमा सवारी प्रदूषण परीक्षण गरेको हो ।

    महानगर क्षेत्रको सवारी साधनहरूको प्रदूषण जाँच गर्ने क्रममा २० वटा सवारीमध्ये ६ वटा सवारी साधनको प्रदूषण फेल पाइयो भने १४ वटा ठिक हालतमा रहेको पाइएको महानगर प्रहरीले जनाएको छ। माइतीघर मण्डलबाट बबरमहलतर्फको सडक खण्डमा जाँचिएका सवारी साधनमा ठुला बस, मिनी बस, माइक्रो बस र सामान ओसार्ने ट्रिपर थिए । 

    महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदुषण परीक्षण गरेको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिए । 

    मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । 

    तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । 

    सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ । 

    जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij