काठमाडौं । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर ठगी प्रकरणमा पक्राउ परेका छन् ।सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको हो ।
हिनामिना प्रकरणमा अनुसन्धानका लागि ललितपुर परिसरको सहयोगमा ठाकुरलाई भैंसेपाटीबाट पक्राउ गरिएको हाे । उनलाई अब जनकपुर झिकाएर अनुसन्धान अघि बढाउने तयारी धनुषा प्रहरीले गरेको छ ।
ठाकुरसँगै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीनजना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको प्रकरणमा मुछिएका थिए ।
ठगी प्रकरणमा मुछिनेमा ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरी थिए । उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा गत मंसिरमै जाहेरी परिसेकको छ ।
जाहोरी दर्ता भएपछि जिल्ला अदालत धनुषाले उनीहरू सबैजनाविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न आदेशसमेत दिइसकेको थियो । तर लामो सयमसम्म ठाकुर फरार रहँदै आएका थिए । जाहेरी दर्ता भइसकेपछि अदालतले पक्राउ गर्न आदेशसमेत दिइसकेको छ अवस्थामा ठाकुरसहित सबैलाई पक्राउ गर्न खोजी भइरहेको प्रहरीले भनेको थियो ।