काठमाडौं । काठमाडौं जिल्लामा करिब १ लाख १० हजार २ सय ६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने भएको छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौँले आज यहाँ आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौँका ११ स्थानीय तहका १ लाख १० हजार २ सय ६३ जना किशोरीलाई खोप लगाइने जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५ सय ४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७ सय २३ किशोरीलाई खोप लगाइनेछ ।
काठमाडौं महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३ सय ४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा ४ हजार ६ सय ५२ किशोरीलाई एचपिभी खोप दिइने विष्टले बताए । १ हजार १ सय १ विद्यालय र १ सय ४६ अन्य खोप केन्द्रमार्फत ती उमेरका किशोरीलाई खोप प्रदान गरिनेछ । खोपका लागि दुई हजार ४ सय १२ स्वास्थ्यकर्मी खटिनेछन् । खोप अभियान माघ २२ देखि ६ सञ्चालन हुने महानगरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले नगरपालिकामा प्रमुख र वडा कार्यालयमा वडाध्यक्षको संयोजकत्वमा खोप समिति गठन गरेर कोही किशोरी पनि खोपबाट वञ्चित हुन नपरोस् भनेर काम भइरहेको बताउनुभयो । उहाँले खोप लगाउन छुट्न सक्ने ठाउँको पहिचान गरेर विशेष अभियानसमेत सञ्चालन गरिने बताए ।
सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले यसविरुद्ध खोप लगाउनुपर्ने हुन्छ । नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको जानकारहरूले बताएका छन् ।