काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा बागमती प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लब जारी प्रतियोगिताको फाइनलमा पुग्ने दोस्रो टोली हो ।
अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब यसअघि नै फाइनलमा पुगिसकेको छ । प्रारम्भिक चरणको आफ्नो तेस्रो खेलमा बागमती प्रदेशलाई पाँच विकेटले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।
जनकपुरमा सम्पन्न खेलको दोस्रो दिन आइतबार पुलिस क्लबले १ सय १६ रनको लक्ष्य २३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
पुलिसका लागि अमित श्रेष्ठले अर्धशतकीय पारी खेले । उनले ४५ बलमा ९ चौका प्रहार गर्दै ५६ रन बनाएका हुन् । कप्तान कुशल भुर्तेलले १९ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । अर्जुन साउदले २० रन जोडे ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले २ तथा सूर्य तामाङ, नन्दन यादव र प्रतिश जिसीले १–१ विकेट लिए ।
यसअघि दोस्रो दिन बागमती आफ्नो दोस्रो इनिङ्समा ५३ ओभरमा २१८ रन बनाएको थियो ।