काठमाडौं । घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले सोमबार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई २४ मंसिरमा पक्राउ गरेको थियो । एक महिनासम्म अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय, झापाले केही दिनअघि रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय, झापाले अदालतमा मुलुकी अपराध संहिताअन्तरगतको जबरजस्ती करणीसम्बन्धी कसुर र बालबालिका ऐनविपरीतको कसुरमा मुद्दा दर्ता गराएको थियो ।
अदालतले थुनछेक बयान र बहसपछि शिवोकाटीलाई थुनामा पठाउने आदेश दिएको हो । तर, अदालतले शिवाकोटीको स्वास्थ्य स्थितिलाई भने ख्याल राख्न भनेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएकाे छ । त्यही अनुसार स्वास्थ्य उपचारका लागि उनलाई बी एन्ड सी अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेदेखि पूर्वमेयर शिवाकोटी अस्पतालमा छन् ।