काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।
एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । अभियुक्तध्ये एक रास्वपाका सभापति तथा प्रतिनिधि सभाका निलम्बित सांसद रवि लामिछाने पनि छन् ।
काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन गत बिहीबार वकिलको कार्यालयलाई बुझाएको थियो ।
लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ । त्यहाँ उनको बयान सकिएर थुनछेक बहस भइरहेको छ ।