काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर प्रहरीले फाइल बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
जाहेरीको १० महिनापछि अनुसन्धानलाई गति दिएको प्रहरीले आरोपितहरूको बयान तथा सोधपुछ, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयहरूलगायत अध्ययन गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ । १ अर्ब १९ करोड रुपैयाँ बढी बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । सुरुमा एक अर्ब ११ करोड रूपैयाँ ठगिएको दाबी गर्दै जाहेरी दिइएको थियो । पछि जाहेरी र पीडितको संख्या बढेपछि बिगो पनि थप भएको हो ।
स्वर्णलक्ष्मी सहकारीबाट १६ भन्दा बढी कम्पनीमा २३ करोड ३७ लाख ११ हजार ३ सय २० रुपैयाँ रकम ट्रान्सफर गरिएको अडिट रिपोर्टबाट खुलेको छ । जसमध्ये सबैभन्दा बढी जीबी (गीतेन्द्रबाबु) राईको हर्बो इन्टरनेसनल प्रा.लि.मा गएको छ । त्यहाँ १० करोड २७ लाख ९४ हजार ५ सय २२ रुपैयाँ अपचलन भएको भेटिएको छ ।
जीबी गु्रप अफ कम्पनी प्रालिमा १ करोड ६९ लाख १ हजार ४२ रुपैयाँ, कुमकुम हर्बल इन्डस्ट्रिज प्रा.लि.मा १३ लाख ११ हजार ४ सय ४८ रुपैयाँ, देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्ममा ३ करोड ७८ लाख ७ हजार ९ सय ३६ रुपैयाँ रकम ट्रान्सफर गरेर अपचलन गरिएको भेटिएको छ ।
बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले अनुसन्धान गर्न भन्दै स्वर्णलक्ष्मीको अडिटसहितको रिपोर्ट २३ पुस २०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।
त्यतिबेला रकम अपचलन गरेको निष्कर्षसहित सञ्चालकहरूको विवरण, अडिट रिपोर्ट, साधारणसभाको निर्णयलगायतका कागजातहरू मन्त्रालयले प्रहरीलाई पठाएको थियो ।