काठमाडौं । केडिया ग्रुपको आयोजनामा हुन लागेको भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ । आयोजक केडिया ग्रुपले मंगलबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण गरेका थिए । यस्तै राखेपका सदस्य सचिव टंकलाल घिसिङ र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरेका थिए ।
केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाईमा पु¥याउने लक्ष्यका साथ उचाईको उडान स्लोगान राखिएको कार्यक्रममा जानकारी दिए ।
एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने जानकारी दिए ।
९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुने पनि उनले बताए । हरेक टोलीमा १२ खेलाडी हुने त्यसमा ९ नेपाली र ३ विदेशी खेलाडी हुने छन् ।
पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच ७ वर्षको लागि सम्झौता भएको हो ।
नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो ।
कार्यक्रममा केडिया ग्रुपका अध्यक्ष विमल केडियाले भलिबलको विकासका लागि सधैँ तयार रहेको बताए । प्रतियोगिताको मिति भने सार्वजनिक गरिएको छैन ।
कार्यक्रममा मन्त्री चौधरीले अहिले नेपाली खेलकुदमा राम्रो वातावरण बन्दै गएको बताए । तर माहोल हुदा पनि पूर्वाधार नहुदा खेलकुदको सोचेजस्तो बिकास हुन नसकेको स्वीकार गरे ।
यसैगरी राखेपका सदस्य सचिव घिसिङले भलिबल लिगका लागि परिषद्ले सबै सहयोग गर्ने प्रतिवद्धता जनाए ।