जनकपुर बोल्ट्स चितवन राइनोजसँग ३२ रनले पराजित

जनकपुर बोल्ट्स चितवन राइनोजसँग ३२ रनले पराजित

शनिवार, मंसिर २९ २०८१
शनिवार, मंसिर २९ २०८१
  • जनकपुर बोल्ट्स चितवन राइनोजसँग ३२ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स चितवन राइनोजसँग ३२ रनले पराजित भएको छ । जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।

    जेम्स निसमले मात्र २४ बलमा ६५ रनको विस्फोटक पारी खेले । उनले ५ चौका र ६ छक्का प्रहार गरे । आसिफ शेखले २६ बलमा २३ रन जोडे । उनले ४ चौका हिर्काए । शुभ कंशकारले १५ तथा मोहम्मद मोहसिनले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् ।

    चितवनका लागि शोहेल तनवीर र कुशल मल्लले २–२ विकेट लिए । तनवीरले आफ्नो ४ ओभरमा २३ रन मात्र खर्चिए भने मल्लले २६ रन दिए । रिजन ढकालले पनि २ विकेट लिए । अमर रौटेलाले १ विकेट हात पारे ।

    यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान कुशल मल्लको धुँवादार ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । मल्लले सर्वाधिक ७२ रनको योगदान दिए । मात्र ४१ बलमा उनले ३ चौका र ७ छक्का हिर्काए । जारी प्रतियोतिगामा उनको यो उच्च स्कोर पनि हो । उनले यसअघि पहिलो खेलमा पोखराविरुद्ध सबैभन्दा धेरै ३८ रन बनाएका थिए । उनले हालसम्म प्रतियोगितामा २ सय २ रन बनाएका छन् ।

    रवि बोपारा तेस्रो अर्धशतक बनाउनबाट चुके । उनले ३२ बलमा ४४ रन जोडे । बोपाराले यसअघि पहिलो खेलमा पोखरा र दोस्रो खेलमा कर्णालीविरुद्ध अर्धशतक बनाएका थिए । उनले टोलीका लागि प्रतियोगितामा २ सय ३३ रनको योगदान दिएका छन् ।

    ओपनर हसन इसाखिलले १९ बलमा २८ रन जोड्दै टोलीलाई राम्रो सुरुवात दिए । उनले एक छक्का हिर्काए । त्यस्तै, सन्तोष कार्कीले १२ बलमा १४ रन बनाए । 

    जनकपुरका लागि ललित राजवंशीले किफायती बलिङ गर्दै २ विकेट लिए । ४ ओभरमा उनले २ मेडन राख्दै मात्र ११ रन खर्चिए । जेम्स निसम, मोहम्मद मोहसिन र हर्ष ठाकेरले १–१ विकेट लिए ।

    जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । यो जनकपुरको सातौँ तथा अन्तिम खेल हो । टोलीले ७ खेलमध्ये ५ खेल जित्दै १० अंक बटुलेको छ । 

    यता, चितवनले ७ खेलबाट ४ खेलमा जित र तीन खेलमा हार बेहोर्दै ८ अंक बटुलेको छ । आजको खेल जित्दै टोलीले प्लेअफको सम्भावना कायम राखेको छ । 

    चितवनको जितले विराटनगर किंग्स भने प्लेअफको दौडबाट बाहिरिएको छ । विराटनगरले ६ खेलबाट ४ अंक बटुलेको छ । अब टोलीले ८ अंक भेट्याउन सक्नेछैन । विराटनगरसँगै पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघि नै प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij