काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमान्डुले सहज जित निकालेको हो ।
पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्याे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।
पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
काठमान्डुका लागि राशिद खान र करण केसीले तीन–तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक–एक विकेट लिए ।
यो जितसँगै काठमान्डुले ६ खेलबाट ६ अंक जोडेको छ । पराजित भएको पोखराको ४ अंक छ ।